अझै प्रयाेगमा छैनन् तीन विमानस्थल.....
कालिकाेट/कर्णालीमा करोडौँ रकम खर्चेर निर्माण गरिएका तीन विमानस्थल प्रयोगविहीन अवस्थामा छन् । कर्णालीमा सातवटा विमानस्थल छन् । कालीकोटको नरहरिनाथ गाउँपालिका– १ स्थित कोटबाडामा निर्माण गरिएको सुनथराली विमानस्थल जहाजको पर्खाइमा छ । २०४२ सालबाट निर्माण थालेर ३९ वर्षमा पूरा भए पनि यो विमानस्थल परीक्षण उडानमा नै सीमित बनेको छ । विमानस्थल निर्माण थालिएको झण्डै चार दशक मात्रै बितेको छैन, यस अवधिमा विमानस्थल निर्माणका क्रममा ३५ जना मजदुरले ज्यान पनि गुमाएका छन् ।
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री रहेका जीवनबहादुर शाही संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुदाँ २९ माघ २०७३ मा पहिलोपटक यो विमानस्थलमा परीक्षण उडान सफल भएको थियो । त्यसयता १४ फागुन २०८० मा पूर्वउपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीसहितको टोलीले नेपाल एयरलाइन्स र तारा एयरका दुईवटा जहाज अवतरण गरेर विमानस्थलको उद्घाटन गरेका थिए ।
विमानस्थलको उद्घाटन गर्दै पूर्वउपप्रधान तथा रक्षामन्त्री पूर्णबहाददुर खड्काले लामो समयपछि निकै मिहिनेत र कठिन परिस्थितिका बाबजुद विमानस्थलको उद्घाटन भएको बताएका थिए । यात्रुको माग हेरेर हप्ताको एकपटक उडान भर्ने प्रतिबद्धतासमेत उनको थियो । त्यसयता यसतर्फ कसैको चासो नरहँदा अहिले कोटबाडा विमानस्थल परीक्षण उडानमै सीमित भएको छ ।
यस्तै, रुकुम पश्चिमको चौरजहारी विमानस्थल पाँच वर्षदेखि बन्द छ । विमानस्थल बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमलगायत यस क्षेत्रका नागरिक हवाई सेवा लिनबाट वञ्चित छन् । २०७५ सालदेखि बन्द विमानस्थल सञ्चालन हुन नसक्दा नागरिक मर्कामा पर्दै आएका छन् ।
पहिले सातामा दुई दिन नेपाल वायु सेवा निगमको ट्वीनअटर जहाजले सेवा दिने गरे पनि अहिले सो सेवा बन्द छ । ५ करोड ५९ लाख ४९ हजार रुपैयाँको लागतमा २०७२ सालमा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो । विमानस्थलमा जहाज नआउने भएपछि अहिले यो विमानस्थल घाँसे मैदानमा परिणत भएको छ ।
डोल्पाको मसिनेचौर विमानस्थलको हालत पनि उस्तै छ । निर्माण कार्य सम्पन्न भइसक्दा पनि मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन । २०६८ सालमा निर्माण गरिएको विमानस्थलको २०७२ मा कालोपत्रे गरिएको थियो । पूर्वाधार निर्माणका सबै काम सम्पन्न भइसकेको छ । तर, अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन ।
त्रिपुरासुन्दरी नगरपालिकामा २०६६ सालदेखि विमानस्थलको निर्माण सुरु गरिएको थियो । २०६८ मा निर्माण सम्पन्न भई २०७२ मा कालोपत्रे सम्पन्न भएको थियो । डोल्पामा हवाई यातायातका लागि जुफाल विमानस्थलको विकल्पका रुपमा मसिनेचौर विमानस्थल निर्माण गरिएको थियो । समयमै निर्माण गरिए पनि सञ्चालनमा भने बेवास्ता गरिँदा करोडौँ रकम खर्चेर निर्माण गरिएको विमानस्थल प्रयोगविहीन बनेको छ (पत्रकार आेेम शााहिकाे बाल बाट)
Comments
Post a Comment